‘मान्छे हैन टेक्नोलोजी पो स्मार्ट हुन्छ त’

“स्मार्ट टेक्नोलोजीमा स्मार्ट जेनेरेशन”
–  एक समय थियो एक ठाउँदेखि अर्को ठाउँसम्म हिँडेरै दोहोरो खबर आदानप्रदान हुन्थ्यो । रेडियो,टेलिभिजनवाट सूचना एवम् जानकारी लिनका लागि निश्चित समयसम्म पर्खनुको विकल्प थिएन । तर, अहिले कायापलट भइसकेको छ । धेरै घुम्तीहरू पार भइसकेको छन् । सूचना दिन र लिन अब पलभरमै सम्भव भएको छ ।  सूचनाका लागि कसैको प्रतीक्षा अब कसैले गर्नुपर्ने छैन । आफू पायक सयममा सूचना लिन कुनै अप्ठ्यारो छैन । प्रविधिको विकास र विस्तार चरम छ । विश्वको एक कुनामा बनेको प्रविधि भोलि अर्को कुनासम्म पुगिसकेको हुनेछ ।
स्मार्ट ग्याजेट्स प्रयोगका लागि युवा जेनेरेशन निकै लालयित छन् र स्मार्ट भइरहेका छन् । उनीहरू साधारण मोबाइल प्रयोग गर्न चाहँदैनन् । साधारण उही पुरानो टिभी हेर्न चाहँदैनन् । आवा, हुलाक इतिहास बन्दैछन् र यी सञ्चार प्रणालीप्रति युवापुस्ता चासो राख्दैनन् । उनीहरूको रोजी र खोजीको विषय भनेको स्मार्ट नै हो । युवापुस्ताको रोजाइ ग्याजेट्समै छ । अब मोबाइलमा फोन र एसएमएस मात्रै होइन, एप्स, गेम, इन्टरनेटलगायत सोसियल मिडिया प्रयोगमा अनिवार्य भइसकेको छ । पहिले उही १४ इन्चको टिभी भए सबै खुसी हुने समय थियो । तर, अहिले टिभीमै इन्टरनेट चलाउन मिल्ने, बढीभन्दा बढी एप्सको प्रयोग गर्न पाइने, आफूअनुकूलका स्मार्ट टिभी आएका छन् । युवापुस्ता प्रविधिअनुसार ‘अप टु डेट’ छन् र आफूअनुसार नै स्मार्ट ग्याजेट्समा रमाउन चाहन्छन् ।

स्मार्ट टेक्नोलोजीको खोजी भएको भने लामै इतिहास भइसकेको छ । स्मार्ट टेक्नोलोजीको सुरुवात सन् १९८७ मा क्यानडाबाट भएको पाइन्छ । डेभलपरहरूले स्मार्ट बोर्ड वनाएसँगै यसको सर्वत्र चर्चा हुन थाल्यो । स्मार्ट बोर्ड अर्थात् ह्वाइट बोर्ड । यो बोर्डमा छोएर लेख्न तथा पाठ्यसामग्री देखाउन सकिने बनाइएको थियो । विकिपिडियाको अनुसार सो ह्वाइट बोर्ड टच गरेरै चलाउन सकिन्थ्यो । स्मार्ट ह्वाइट बोर्ड तयार गर्नका लागि कम्प्युटर, प्रोजेक्टर एवम् हवाइट बोर्डिङ सफ्टवेयरको प्रयोग गरिएको थियो । सो ह्वाइट बोर्डमा हातले टच गरेर, पेनले एवम् ठोस वस्तुको घर्षणले सहजै लेख्न सकिन्थ्यो । हो यही प्रविधिको विकासबाटै स्मार्टको सुरुवात भएको पाइन्छ । ह्वाइट बोर्डकै विकासक्रमले अहिले मोबाइल, ट्याब्लेट, टिभी, कम्प्युटर लगायतका ग्याजेट्सहरू स्मार्ट हुँदै गइरहेका छन् ।  चाँडै नै अबका दिन गुगलको ग्लास, आईफोनकै ग्लाग एवम् वाचलगायत अझ आधुनिक स्मार्ट ग्याजेट्स बजारमा छाउ“दै छन् । यति मात्रै होइन, अब हामीले प्रयोग गर्ने ग्याजेट्सदेखि लुगा, जुत्ता, ब्याग सबै स्मार्ट नाम जोडेर आइरहेका छन् । यो स्मार्ट टेक्नोलोजीको बाढी आइरहेको छ । यो स्मार्ट टेक्नोलोजीको प्रभाव अब युवापुस्ता स्मार्ट जेनेरेशनमा प्रवेश गरेको संकेत हो ।

स्मार्टफोन (Mobile)
मोबाइल फोनको अविष्कार भएको ४० वर्ष भइसकेको छ । सन् १९७३ मा मोटोरोलाले पहिलो मोबाइलको विकास गरेको थियो । मोटोरोला त निकै पछाडि परिसक्यो । केही वर्ष अघिसम्म विश्वको नम्बर १ मा रहेको मोबाइल कम्पनी नोकियासमेत पछिपछि दौडिरहेको छ । साधारण मोबाइल प्रयोग गर्न युवापुस्ता तयार छैनन् । उनीहरूको खोजी र रोजी भनेकै स्मार्ट मोबाइलमा छ ।

 फोन र एसएमएस गर्न मात्र मिल्ने मोबाइल प्रयोग गर्न स्मार्ट युवापुस्ता सायदै रुचाउँछन् । मोबाइल चलाउँदै गर्दा इन्टरनेट चलाउन मिल्ने होस्, धेरैभन्दा धेरै एप्सहरूमा रमाउन सकियोस्, फोटो खिच्न र भिडियो कैद गर्न सकियोस् ,अझ कम्प्युटरका कामहरू पनि गर्न सकिने मोबाइलको रोजाइमा छन् युवापुस्ता । स्मार्टफोनको प्रयोग, दिन दुईगुणा रात चौगुणाको हिसाबले बढिरहेको छ । सन् २०१२ मा अन्तर्राष्ट्रिय टेलिकम्युनिकेशन युनियनले एउटा तथ्यांक सार्वजनिक गरेको थियो, जसमा जनाएअनुसार विश्वका ६ अर्ब मानिसले मोबाइल प्रयोग गरिरहेका छन् । त्यसमा पनि साधारण मोबाइललाई बाईबाई भन्दै स्मार्टमै अघि बढिरहेका छन् 
स्मार्टफोनमा आकर्षण हुनुको पछाडि इन्टरनल प्रोसेसर, ब्याट्री क्षमता, स्टोरेज क्यपासिटी, स्क्रिन साइज एवम् ब्रोडब्याण्ड कनेक्टिभिटी र डिभाइस पर्फमेन्सको पनी ठूलो हात छ । हरेक आइटी कम्पनीले प्रतिस्पर्धाका साथ स्मार्ट मोबाइल बजारमा ल्याइरहेका छन् । तपाईं कुन मोबाइल प्रयोग गर्न चाहनुहुन्छ भनेर जोकोही युवालाई सोध्यो भने उनीहरू सामसुङ ग्यालेक्सी एस थ्री, आईफोन ५, नोकिया लुमिया ९२०, एचटिसी वन, सोनी एक्सपेरिया जेड, गुगल नेक्सस ४, ब्लाकबेरी वा भर्खरै बजारमा आएको सामसुङ ग्यालेक्सी एस ४ स्मार्ट मोबाइलप्रति रुचि रहेको बताउ“छन् । यीबाहेक धेरै मोबाइल कम्पनीले उत्कृष्ट फिचरसहित टच स्मार्ट मोबाइलहरूको प्रतिस्पर्धा बढाइरहेका छन् ।  
स्मार्ट गुगल ग्लास (Google Glass )
बादशाह सर्च इन्जिन गुगलले स्मार्ट युवा पुस्तामाझ चामत्कारिक स्मार्ट ग्लास पनि बजारमा ल्याउँदै छ । यो गुगल ग्लासलाई समयको चरम अविष्कार नै हो भन्न सक्छौं । यसले आँखाको मात्रै सुरक्षा र महत्व राख्नेछैन । अन्य धेरै स्मार्ट ग्याजेट्सको आवश्यकतालाई यो एक्लैले परिपूर्ति गर्नेछ ।
दुई हात कि–बोर्डमा राखेर कम्प्युटर चलाउनुपर्ने छैन, फोटो भिडियो खिच्नको लागि अन्य मानिसको आवश्यकता पर्दैपर्दैन अनि निहुरिएर मोबाइलमै घोहोरिरहनु पनि पर्नेछैन । सबै काम मौखिक निर्देशनमै गुगल ग्लासले गर्नेछ । सोच्नुहोस् त कस्तो अचम्मको अविष्कार हो । त्यति मात्रै होइन, गुगलले स्मार्ट ग्लासको फिचर समेटेर युट्युबमा भिडियो अपलोड गरेको छ ।
सन् २०१२ को अप्रिलमा अपलोड गरेको सो भिडियो देखेर साँच्चै मानिसहरू चकित भएका छन् । युट्युबमा अपलोड गरिएको सो भिडियो स्वयम् गुगल चश्माले नै कैद गरिरहेको देखाइएको छ । 
गुगलले अपलोड गरेको उक्त भिडियोमा एकजना मानिसले चश्मा लगाएको  छ, त्यही चश्माको मद्दतबाट उसले बिहानको तापक्रमदेखि लिएर टेक्स म्यासेज पढ्न, म्यासेज पठाउन, अनलाइन कन्सर्टको लागि टिकट बुकिङ गर्न, लाइब्रेरीसम्मको नक्सा पत्ता लगाउन, आफ्नो साथी र आफूबीचको दूरी पत्ता लगाउन, फोटो खिच्न, भिडियो च्याट गर्न गुगल चश्माकै प्रयोग गरेको देखाइएको छ ।
गुगलले भनेको थियो, ‘प्रोजेक्ट ग्लास वान डे’ त्यो समय आइसकेको छ । सन् २०१३ को अन्त्यसम्ममा १५ सय अमेरिकी डलर अर्थात् १ लाख ३० हजार नेपाली रूपैयाँको हाराहारीमा उक्त चश्मा उपलब्ध हुनेछ । यो अविष्कारलाई आईफोनसमेतले पछ्याएको छ, उसले पनि भनेको छ, ‘हामी आई ग्लास एवम् आईवाच ल्याउँदै छौं । आई वाच पनि निकै अनौठो हुनेछ । यसमा समय त हेरिन्छ नै मोबाइल तथा कम्प्युटरबाट गरिँदै आएका धेरै काम र इन्टरनेटको पनि प्रयोग गर्न सकिनेछ ।’
चिनिया गुगलको नामले चिनिने चीनको चर्चित सर्च इन्जिन बैदुले चामत्कारिक चश्मा बनाउने भएको छ । गुगलको सिको गर्दै बैदुले पनि स्मार्ट ग्लास बनाउने निर्णय गरेको हो ।

स्मार्ट टेलिभिजन (Smart Television)

एक जमाना थियो, टिभी मात्र टिभी हेर्नका लागि प्रयोग गरिन्थ्यो । समाचार तथा कार्यक्रम हेरिन्थ्यो, जानकारी र मनोरञ्जनको ठूलो स्रोत मानिन्थ्यो । तर, अहिले त्यो समय र बुझाइ साँघुरो हुँदै गएको छ । प्रविधि र समयले धेरै कोल्टे फेरिसकेको छ । बजारमा धेरैभन्दा धेरै स्मार्ट टिभी भित्रिसकेका छन् । यसलाई एकीकृत इन्टरनेट क्षमता भएको वा सेट–टप बक्ससहितको एडभान्स कम्प्युटिङ एभिलिटी र कनेक्टिभिटी सेवा भएको साधारणभन्दा बेग्लै किसिमको टेलिभिजन भनेर परिभाषित गरिएको पाइन्छ ।  

स्मार्ट टिभीकै कारण समाचार तथा कार्यक्रम हेर्ने मात्र होइन, फेसबुक, ट्वीटर, युट्युब, इस्काइप लगायत इन्टरनेटको प्रयोगमा सहज भएको छ । स्मार्ट टिभीले  परम्परागत ब्रोडकास्ट टिभी च्यानल, क्याच–अप सर्भिस, भिडियो अन डिमान्ड, इलेक्ट्रोनिक प्रोग्राम गाइड, अन्तरक्रियात्मक प्रचारप्रसार, निजीकरण, मतदान, गेम्स, सामाजिक सञ्जाल र अन्य मल्टिमिडिया एप्लिकेशनहरूसँग सम्बन्धित इन्टरनेट सेवाहरू पु¥याइरहेको छ ।
यति धेरै फिचर भएकै कारण स्मार्ट युवा स्मार्ट टिभीप्रति आकर्षित छन् । अझ  अन्य महत्वपूर्ण फिचरहरू एचडी, वायसर कन्ट्रोल, मोशन कन्ट्रोल एवम् फेस रिकग्निशन लगायत फिचरले युवापुस्तालाई आकर्षण गर्न सफल भएको छ । कम तौल, युएसबी पोर्ट, हेडफोन, ज्याकलगायतको सुविधाले पनि स्मार्ट टिभीप्रति युवापुस्ता झुकाव राख्छन् । अझ स्मार्ट मोबाइलबाटै टिभी कन्ट्रोल गर्न सकिने र सेयरिङ गर्न सकिने हुँदा यसप्रतिको क्रेज बढ्दो छ । स्मार्ट टिभीको उत्पादन धेरै कम्पनीले गरेका छन् । सामसुङ, एलजी, सोनी, पानासोनिक, तोसिबा, फिलिप्सलगायत कम्पनीका स्मार्ट टिभी बजारमा पाउन सक्छौं ।

स्मार्ट वाच (Smart Watch)

स्मार्टफोनपछि ग्याजेटको बजारमा यतिखेर स्मार्ट घडीमा उत्पादक तथा निर्माताहरू भिड्न लागेका छन् ।  गुगलले स्मार्ट चश्मा उत्पादनको तयारी गरेपछि यतिखेर प्रविधि लगाउने साधनमा केन्द्रित भएको छ, जसमा गुगलले चश्मापछि मानिससगँ बोल्ने स्मार्ट जुत्तासमेत सार्वजनिक गरिसकेको छ ।
स्मार्ट, यतिखेर सबै खालका विद्युतीय उपकरणका अगाडि यही उपसर्ग लाग्न थालेको छ । मोबाइल, टेलिभिजन, फ्रिजदेखि बाथरूमसम्म स्मार्ट बनिसकेका छन् । वास्तवमा यी उपकरण मात्र होइन, यिनको प्रयोग गरेर तपाईं हामी अनि विश्व नै स्मार्ट बनिसकेको छ । स्मार्टफोनपछि हातमा बस्न आएको छ स्मार्टवाच । हातमा लगाउने यस्ता स्मार्ट घडीले मानिसलाई थप स्मार्ट बनाउने छन् । यस्ता स्मार्ट घडीमा समय मात्र होइन, मौसम पनि हेर्न सकिन्छ । त्यसो त स्मार्टफोनसँग सजिलै ब्लुटुथको माध्यमबाट जोडिने यस्ता घडीमा इमेल तथा एसएमएस हेर्न सकिन्छ । मोबाइलसँग जोडेर यी घडीहरूमा सामाजिक सञ्जाल चलाउन सकिन्छ । त्यसो त यी घडी फोन गर्न सक्ने सम्मको क्षमता राख्छन् ।


पछिल्लो समय आइफोनको निर्माता कम्पनी एप्पलले आइवाचका रूपमा स्मार्ट घडी ल्याउने कुराले ग्याजेटप्रेमीलाई निक्कै ततायो । चर्चामा रहेको एप्पलको स्मार्ट घडी आइवाचबाहेक बजारमा स्मार्ट घडी नभएका भने पक्कै होइनन् । एप्पलले ल्याउने भनिएको आइवाचले प्रतिस्पर्धा गर्नुपर्ने यस्ता धेरै स्मार्ट घडी छन् । यो दौडमा कम्प्युटर प्रविधिमा राज गरेको अमेरिकी कम्पनी माइक्रोसफ्टले पनि आफूलाई लगाएको छ ।
स्मार्टफोनमा एप्पलको ठूलो बजारहिस्सा आफ्नो  बनाउन सफल सामसुङले एप्पलको आइवाचलाई पनि चुनौती दिने भएको छ । त्यसका लागि सामसुङले पनि घडीजस्तै स्मार्ट प्रविधिको डिजिटल ग्याजेट बनाउन सुरु गरेको छ । एप्पल, सामसुङ, गुगल र माइक्रोसफ्टमात्र होइन, स्मार्ट वाचको प्रतिस्पर्धामा सोनी, मोटोरोलालगायत अन्य घडी उत्पादक कम्पनी पनि उत्रिएका छन् । बजारमा आइसकेको  सोनी स्मार्टवाचमा एण्ड्रोइड डिभाइस सगँ सिंक हुने सुविधा छ । यो मोबाइल फोनसँग ब्लुटुथको माध्यमबाट जोडिन सक्छ । मोबाइलमा जोडिइसकेपछि यसले इमेल, एसएमएस, सामाजिक सञ्जाल र क्यालेण्डरको नोटिफिकेसन देखाउँछ । मेटा वाच, आइएमवाच, पेम्बल पनि स्मार्ट वाचहरू हुन् । पेम्बलले स्मार्ट वाचका लागि अनलाइनमा चन्दा संकलन नै गरेको थियो ।
यसरी प्रविधिको दुनियाँमा कम्पनीहरू नयाँ नयाँ सम्भावना खोजी गर्दै त्यसको उत्पादनमा प्रतिस्पर्धात्मक रूपमा लागिरहेका छन् । अहिले धेरैको जोड मानिसले प्रयोग गर्ने समानहरू स्मार्ट प्रविधिका रूपमा ल्याउने होडवाजी नै चलिरहेको छ ।

स्मार्ट सोसियल मिडिया (Smart Social Media )
फोन गर्दा सम्पर्क हुन सक्दैन, ईमेल त रिप्लाई नै भएको छैन भने फेसबुक, ट्वीटर लगइन गर्नुहोस्, त्यहाँ खोजी गरिएकै व्यक्ति अनलाइनमा भेट्नुहुन्छ । अर्थात् अहिलेका पुस्ता सोसियल मिडियामा रमाइरहेका छन् ।
आफ्ना अनुभव र अभिव्यक्ति सामाजिक सञ्जालमै बाँडिरहेका छन्, सबै भर्चुअल चौतारीमै छन् । साधारण कुराकानीदेखि आफ्ना व्यापारव्यवसायसम्मका कुरा यस्ता सामाजिक सञ्जालमा भइरहेको छ । बिहानको अलार्मबाट सुरु भएर मध्यरातसम्म सोसियल मिडियासँग जोडिरहेका छन् युवाहरू । फेसबुक, ट्वीटर, लिंकदिनजस्ता  साइटहरू युवापुस्ताको रोजाइ बनेका छन् । अझ स्मार्ट युवाहरू त ट्वीटर प्रयोगमा जोड दिन्छन् ।

विश्वमा १ अर्बभन्दा बढी फेसबुक प्रयोगकर्ता र ५० करोडको हाराहारीमा ट्वीटर प्रयोगकर्ता रहेका छन् । नेपालमा तुतनात्मक हिसाबले कम भए पनि नेपालको इन्टरनेट प्रयोगकर्ताको हिसाबमा फेसबुक र ट्वीटरमा सहभागिता राम्रो देखिन्छ ।
नेपालमा २० लाखको हाराहारीमा फेसबुक प्रयोगकर्ता छन् । २० वर्षदेखि ४० वर्ष उमेरसमूहका नेपाली फेसबुक प्रयोगकर्तालाई नै हेर्ने हो भने १३ लाखभन्दा बढी छन् । यसबाट पनि सजिलै थाहा पाउन सक्छौं स्मार्ट युवापुस्ता नै सामाजिक सञ्जालमा छन् । ट्वीटर केकतिले चलाउँछन् यसको कुनै तथ्यांक त छैन । तर पनि नेपालमा २० हजारभन्दा बढीले प्रयोग गर्ने गरेको अनुमान लगाउन सकिन्छ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले ट्वीटर प्रयोग गर्दा ट्वीट मार्केटमा राम्रै हल्ला चलेको थियो । अबका युवापुस्ता स्मार्टफोन, स्मार्ट टिभी वा स्मार्ट वाच प्रयोग गरेर फेसबुक र ट्वीटरजस्ता सोसियल साइटमा रमाउन भने भुल्दैनन् । 

Leave a Reply